भारतले अझै एक वर्ष चिनी निकासी नगर्ने

न्युजलय १३ कार्तिक २०७९, आइतबार ०२:०० मा प्रकाशित

एजेन्सी । भारत अझै एक वर्ष चिनी निकासी नगर्ने भएको छ । २०२३ अक्टोबरसम्म प्रतिबन्ध लम्ब्याएको छ । घरेलु बजारमा चिनीको बढ्दो मूल्यलाई ध्यानमा राख्दै १ जुन २०२२ देखि ३१ अक्टोबर २०२२ सम्म चिनीको निर्यातमा प्रतिबन्ध लगाइएको थियो । चिनीको कीर्तिमानी निकासीपछि मूल्य वृद्धि भएको हो । भारत विश्वको सबैभन्दा ठूलो चिनी उत्पादक र ब्राजिलपछि दोस्रो ठूलो निर्यातकर्ता हो। बंगलादेश, इन्डोनेसिया, मलेसिया र दुबई भारतीय चिनीको सबैभन्दा ठूलो खरिदकर्ता हुन्।

चिनी निकासीमा प्रतिबन्ध लगाउने सरकारको योजना अत्याधिक सावधानी अपनाएको देखिन्छ । चिनीको स्वदेशी आपूर्ति प्रचुर मात्रामा भएकाले यस्तो भएको हो । भारतीय चिनी मिल संघका अनुसार यो सिजन भारतमा ३ करोड ५० लाख टन उत्पादन हुने र २ करोड ७० लाख टन खपत हुने अनुमान छ । गत सिजनको करिब ८२ लाख टनको सञ्चिति सहित १६ करोड बचत छ ।

गहुँको बढ्दो मूल्यलाई ध्यानमा राख्दै भारतले गत मे महिनामा गहुँको निर्यातमा प्रतिबन्ध लगाएको थियो । बढ्दो आन्तरिक मूल्यलाई नियन्त्रण गर्ने उपायका रूपमा भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाएको छ ।