विराटनगर । मोरङको केराबारीमा कुटपिट गरेको ७२ दिनपछि एक किशोरको बिहीबार(आज) मृत्यु भएको छ ।
केराबारी गाउँपालिका–९ बेलचौरीका एकजना किशोरको एकै परिवारका दाजुभाइको कुटपिटका कारण मृत्यु भएको हो ।
१७ वर्षीय सञ्जय चौधरीको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सञ्जयलाई केराबारी–९ का ३२ वर्षीय यज्ञ परियार र २५ वर्षीय सुजन परियार मिलेर गत असोज १८ गते कुटपिट गरेका थिए।
कुटपिटबाट घाइते भएका सञ्जयको उपचार मोरङको विराट चोकस्थित सुकुना सामुदायिक अस्पताल र विराटनगरको कोसी अस्पतालमा गराइएको थियो ।
उपचारपछि डिस्चार्ज भएर घर गएका उनको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । दसैंमा डाइस खेलाएको विषयमा विवाद हुँदा सुजन र यज्ञ मिलेर सञ्जयमाथि कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यसअघि गाउँमै मिलापत्र गरेर घटना मिलाइएको थियो । सञ्जयलाई स्वास्थ्य सम्बन्धी पुरानै समस्या पनि रहेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी प्रतिष्ठान लगेर घटनाका बारेमा अनुसन्धान थालिएको छ । प्रहरीका अनुसार घटनामा संलग्न दुवै जनालाई पक्राउ गरिसकिएको छ ।
पक्राउ परेकाविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरेको छ ।