सबैभन्दा उचाईमा कन्सर्ट गरेर विश्व कीर्तिमान राख्दै राजु लामा

न्युजलय २७ चैत २०७८, आइतबार ०८:०५ मा प्रकाशित

काठमाडौं । मंगोलियन हार्टका गायक राजु लामाले ६ हजार ५ सय मिटर उचाईंमा कन्सर्ट गर्दै विश्व कीर्तिमान राख्ने भएका छन् ।

विश्वमा बढ्दो जलवायु परिवर्तनले गर्दा परेको असर न्यूनीकरणका लागि सन्देश प्रवाह गर्न सगरमाथा आरोहणमा प्रस्थान गरेका लामाले कन्सर्ट गर्न लागेका हुन् ।

गायक लामाले सगरमाथा आरोहणसँगै ६ हजार ५ सय मिटर उचाईको क्याम्प २ मा वैशाख दोस्रो साता सांगितिक कार्यक्रम गर्नेछन् । गायक लामाको सो अभियानलाई रोटरी क्लब अफ धुलिखेलले ‘वातावरण र हिमालको सरक्षण गर’ भन्ने नाराका साथ सहयोग गरेको छ । 

गायक लामा तीन जना नेपाली र बाँकी विदेशीसहितको १० सदस्यीय आरोहण दलसँग चुचुरो तर्फ लागेका छन् ।