डेंगु बिरामीले प्रतिष्ठानको आकस्मिक कक्ष भरियो, खानेपानी समस्या मुख्य कारक

न्युजलय ४ साउन २०८०, बिहिबार ०७:५३ मा प्रकाशित

काठमाडौं । धरान उपमहानगरपालिकामा डेंगु संक्रमण तीव्र गतिमा बढेको छ । 


दिनकै १०० भन्दा बढीमा संक्रमण देखिन थालेपछि स्थानीय स्वास्थ्य संस्थाहरु बिरामीले भरिन थालेका छन् । वीपी प्रतिष्ठानसमेत अस्तव्यस्त हुन थालेको छ । अहिलेसम्म संक्रमित संख्या २ हजार नाघिसकेको छ ।


सन् २०१९ मा पनि धरानमा डेंगुले महामारीकै रूप लिएको थियो । त्यो समयमा सरकारी तथ्यांक अनुसार १८ हजार संक्रमित भएका थिए, ६ जनाको मृत्यु भएको थियो । अहिले पनि धरान त्यही दिशामा अघि बढेको छ । डेंगु संक्रमणको कारण यो वर्ष वडा १७ की ३७ वर्षीया महिलाको मृत्यु भइसकेको छ । 


प्रतिष्ठानको आकस्मिक कक्षमा १०० वटा मात्र बेड छ । तर अहिले दैनिक ५० जनाभन्दा बढी बिरामी भर्ना हुन थालेका छन् । वैशाखदेखि १७४ जनालाई वार्ड वा आईसीयूमा भर्ना गरेर उपचार गरिसकिएको छ । केही दिनयता गम्भीर प्रकृतिका बिरामी बढ्दो रहेको अस्पतालले जनाएको छ । 


गत वर्ष धरानमा फाट्टफुट्ट मात्रै डेंगु संक्रमण देखिएको थियो । तर, यो वर्ष भने प्रकोपको रूप लिइसकेको छ । धरान उपमहानगरपालिका जनस्वास्थ्य अधिकृत उमेश मेहताका अनुसार २० वटै वडामा संक्रमण फैलिएको छ ।


सन् २०१९ मा पनि धरानमा डेंगुले प्रकोपकै रूप लिएको थियो । 


खानेपानी समस्या मुख्य कारक

अहिले धरानमा डेंगु फैलिनुको प्रमुख कारण भाडाकुँडा, ड्रम, ट्यांकीमा पानी नछोपी राख्नुलाई मानिएको छ । धरानमा पानी दैनिक रूपमा नआउने भएकाले ट्यांकी, ड्रम, बाटा, बाल्टिनमा राख्नुपर्ने बाध्यता छ । तर राम्ररी नछोप्दा लामखुट्टेले त्यस्तो पानीमा फु्ल पारेर आफ्नो संख्यासमेत बढाएको छ । 


त्यस्तैगरी, अव्यवस्थित सुँगुरको खोर पनि अर्को प्रमुख कारक मानिएको छ । उपमहानगरपालिकाले फगिङ गरेपनि समस्या झन् बढीरहेको छ ।