काठमाडौं । रामबाबु गुरुङद्वारा निर्देशित चलचित्र ‘फूलबारी’को टीजर सार्वजनिक गरिएको छ । जि २१ डिजिटल यूट्युब च्यानलबाट उक्त टीजर सार्वजनिक भएको हो ।
दुई मिनेट दुई सेकेण्ड लामो टिजरले पारिवारिक कथाको झल्को दिन्छ । टिजरमा प्राय मुख्य कलाकारहरु अटाएका छन् । चलचित्रमा विपिन कार्की र अरुणा कार्की दम्पतिको भूमिकामा देखिएका छन् ।
चलचित्रमा विपिन र अरुणासंगै दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्ने सिनेमामा उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा छ । जोश हेरुमको छायांकन रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटारअनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।
फागुन ५ देखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्रमा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ । यो चलचित्र यसोदा फिल्म्सको व्यानरमा निर्माण भएको हो ।