अस्ट्रेलियामा बाउन्सी क्यासल खेल्ने क्रममा चार विद्यार्थीको मृत्यु

न्युजलय ३० मङ्सिर २०७८, बिहिबार ०८:१८ मा प्रकाशित

काठमाडौं । अस्ट्रेलियामा हावा भरिएको प्लास्टिकको घरमा खेल्ने क्रममा चार जना विद्यार्थीको ज्यान गएको छ ।


तास्मानिया डोभोनपोर्ट सहरको एक प्राथमिक विद्यालयमा बाउन्सी क्यासल भनिने हावा भरिएको प्लास्टिकको घर एक्कासी हुरीले उडाएको थियो । हुरीले उडाएको बाउन्सी क्यासलबाट खसेर चार जना विद्यार्थीको ज्यान गएको र पाँच जना घाइते भएका बीबीसीले जनाएको छ ।


बालबालिकाहरू झन्डै १० मिटर माथिबाट खसेको प्रहरीलाई उधृत गर्दै खबरमा उल्लेख छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले यो घटनालाई अकल्पनीय र हृदयविदारक भनेका छन् ।


यो वर्षका लागि विद्यालय सञ्चालन हुने अन्तिम दिन भएकाले बालबालिका निकै खुसीका साथ खेलिरहेको बेला अचानक हुरी आएपछि घटना भएको थियो । घटनापछि तास्मानियाको डेभोनपोर्ट सहर शोकमा परेको खबरमा उल्लेख छ ।