दमक । झापा कचनकवलका गाउँपालिका–३ का वडा अध्यक्ष अजमल मियालाई कुटपिट गरेर नाकको डाँडी भाँच्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार बिहान वडाध्यक्ष मियालाई हेलमेटले हानेर नाकको डाँडी भाँचिदिने मेचीनगर–६ का विजय पनेरुलाई प्रहरीले पक्राउ गरेर कारबाही सुरु गरेको बताइएको हो ।
बिरामी छोरीको उपचारका लागि श्रीमतीसहित बिर्तामोडस्थित मनमोहन अस्पताल आएका वडाध्यक्ष मियाको गाडीमा मोटरसाइकलमा रहेका पनेरु सामान्य रूपमा ठोक्किएपछि रिसको झोकमा पनेरुले वडा अध्यक्ष मियामाथि हेलमेट प्रहार गरेर घाइते बनाएको पाइएको प्रहरीको भनाई छ ।
प्रदेश–१–०१–०१७ प ६५३७ नम्बरको मोटरसाइकलका सवार पनेरु पूर्वबाट पश्चिमतर्फ गइरहेको समयमा लडेको र उठेर हेलमेटले मियालाई कुटेको प्रहरीको भनाई छ । अध्यक्ष मियाको नाकको दुवै डाँडी भाँचिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
वडाध्यक्षलाई कुटेर भाग्न खोजेका पनेरुलाई स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएको बताइएको छ । आफूमाथि अभद्र व्यवहार भएको र ज्यान मार्ने उद्देश्यले कुटपिट भएको भन्दै घाइते वडाध्यक्ष मियाले प्रहरीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।