मोरङमा डेङ्गुबाट आठ सय ६५ जना सङ्क्रमित

न्युजलय १५ साउन २०८०, सोमबार ०२:०१ मा प्रकाशित

मोरङ । मोरङमा डेङ्गु सङ्क्रमितको सङख्या वृद्धि हुँदै गएको छ । विराटनगरस्थित जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत असार १ गतेदेखि हालसम्म जिल्लाभर आठ सय ६५ जना डेङ्गुबाट सङ्क्रमित भैसकेका छन् । 

पथरीशनिश्चरे नगरपालिकामा छ सय ५० जना यो रोगका बिरामी फेला परेका छन् । यसैगरी लेटाङ, मिक्लाजुङ, केरावारी, कानेपोखरी, सुनवर्षी र बेलावरी पालिकामा पनि यो रोगका सङ्क्रमित देखापरेका छन् । 

मोरङको १७ पालिकाकामध्ये सात पालिकामा यो रोगको बिरामी देखिएको हो । जिल्लामा अहिलेसम्म यो रोगबाट कसैको मृत्यु नभएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । 

यो रोगको मुख्य लक्षण ज्वरो आउने, टाउको दुख्ने र पेट दुख्ने रहेको छ । यो रोगबाट  बच्न राति झुल लगाएर सुत्ने, भान्सा कोठामा पानी जम्न नदिने, घर वरिपरि पानी जम्ने ठाउँ सफा राख्ने, पुरै बाहुला भएको लुगा लगाउनेजस्ता सुरक्षा अपनाउनुपर्ने छ ।

डेङ्गो सार्ने लामखुट्टे बिहानदेखि बेलुकासम्म बढी सक्रिय हुने भएकाले लामखुट्टेलाई लार्भा उत्पादन गर्न सहज हुने मुख्यत पानी जम्ने स्थान सफा राख्नु पर्छ ।