दुबई फिल्म फेस्टिभलमा ‘महापुरुष प्रदर्शन नहुने

न्युजलय १६ माघ २०७९, सोमबार ०२:०० मा प्रकाशित

काठमाण्डौ । चलचित्र विकास बोर्डले दुबईमा आयोजना गर्न लागेको ‘नेपाली सिनेमा फेस्ट २०२३’ मा ‘महापुरुष’ प्रदर्शन नहुने भएको छ।

सोमबार निर्माण कम्पनी षट्कोण आर्टले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै फिल्म प्रदर्शन नगर्ने जानकारी दिएको हो। 

निर्माण टिमले बोर्डले गर्न लागेको फेस्टिभलमाथि प्रश्न उठाउँदै जानकारी बिना आफ्नो फिल्म समावेश गरेकोमा आपत्ती जनाएको छ। 

‘चलचित्र विकास बोर्डले ३० लाख खर्च गरेर विवादास्पद कम्पनी सूर्य कर्पोरेशनसँग मिलेर नेपाली फिल्म र पर्यटनलाई विश्वसामु पुर्याउने नाराका साथ दुबईमा गर्न लागेको नेपाली सिनेमा फेस्ट २०२३ मा हाम्रो फिल्म ‘महापुरुष’ हामीसँग अनुमति नलिई समावेश गरेकोमा हाम्रो ध्यानाकर्षण भएको छ,’ फेसबुकमा लेखिएको छ।

फागुन १ गतेदेखि ३ गतेसम्म हुने फिल्म फेस्टिभलमा कबड्डी ४, ऐना झ्यालको पुतली र महापुरुष प्रदर्शन गर्ने कार्यतालिकामा उल्लेख गरिएको छ।