छोराको हत्या आरोपमा आमा पक्राउ

न्युजलय १४ बैशाख २०८१, शुक्रबार १२:०३ मा प्रकाशित

काठमाडौँ । सिराहामा छोराको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छन्।

सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई लहान नगरपालिका –१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

गत मंगलबार बिहानदेखि ५ वर्षीय छोरा आयुश नभेटेको उनले छिमेकीहरुलाई बताएकी थिइन्। छिमेकीले खोजी गर्दा बालक भेटिएका थिएनन्। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।

प्रहरीले खोजी गर्दा सरिता सुत्ने कोठामै आयुशको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

उनी सुत्ने कोठामा रहेको खाटको घर्राभित्र आयुशको शव फेला परेको प्रहरीले बताएको छ ।  शवको पोस्टमर्टम रिपोर्ट आएपछि थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।

सरिताविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा सिराहा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ।