अस्पताल लगिएका कैदी प्रहरीकै मोटरसाइकल लिएर फरार

न्युजलय ९ पुस २०७८, शुक्रबार ०८:१७ मा प्रकाशित

दाङ । जिल्लाको घोराहीस्थित जिल्ला कारागारका एक कैदी प्रहरीकै मोटरसाइकल लिएर फरार भएका छन् ।


कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद सुनाइएपछि सजाय भोगिरहेका एक कैदी उपचार गर्न अस्पताल लगिएका बेला फरार भएका हुन् ।


फरार भएका कैदी दाङकै राजपुर गाउँपालिका बेलाका २८ वर्षीय जयराम परियार रहेको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार जयरामलाई प्रहरीले बिहीबार बिहान उपचारका लागि अस्पताल लगिएकोमा प्रहरीकै मोटरसाईकलमार्फत फरार भएका हुन् ।


प्रहरी जवान धनबहादुर चौधरी कैदी परियारलाई लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा चढाएर लगेका थिए ।


तर अस्पतालमा पुगेर हतकडी खोलिएपछि प्रहरीकै मोटरसाइकलमा फरार भएका थिए । उनी फरार भएपछि प्रहरी जवान चौधरीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


परियार कारागार रहेको करिब साढे सात वर्ष भएको थियो । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।