ओमिक्रोनविरुद्ध फाइजरको बूस्टर खोप प्रभावकारी

न्युजलय २३ मङ्सिर २०७८, बिहिबार ०७:४५ मा प्रकाशित

काठमाडौं । फाइजर एण्ड बायोएनटेकले आफूहरुको खोप (फाइजर) को बूस्टर मात्रा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध प्रभावकारी देखिएको बताएको छ ।


हालकै खोपको तीन मात्रा लगाउँदा ओमिक्रोनविरुद्ध अरु भेरियन्टका लागि दुई मात्रा लगाउँदा जस्तै खोप प्रभावकारी देखिएको फाइजरले जनाएको हो । कम्पनीले सानो आकारको अध्ययनपछि बूस्टर मात्रा लगाउँदा प्रभावकारी हुने देखिएको बताएको हो ।


यसअघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले हालकै खोपले ओमिक्रोनविरुद्ध पनि काम गर्ने सम्भावना रहेको बताएको थियो ।


ओमिक्रोन भेरियन्टको संक्रमण फैलिन थालेसँगै विश्वभरका अनुसन्धानकर्ताहरुले त्यससँग सम्बन्धित तथ्यहरु संकलन गरिरहेका छन् ।


५० भन्दा बढी उत्परिवर्तन भएर बनेको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बढी संक्रामक तथा घातक देखिएको प्रारम्भीक तथ्यहरुले जनाएका छन् ।


फाइजरका प्रमुख कार्यकारी अल्बर्ट बोर्लाले बुधबार वक्तव्य जारी गरेर नयाँ भेरियन्टबाट जोगिनका लागि खोपको तेस्रो मात्रा प्रभावकारी हुने बताएका हुन् । खोपको पूर्ण मात्रा लगाएकाहरुले उपलब्ध भएसम्म चाँडो भन्दा चाँडो बूस्टर मात्रा लगाउन उनले सुझाव दिएका छन्।


तर सानो आकारको मात्रै अध्ययन गरिएकाले थप स्पष्ट हुन बिस्तारित अनुसन्धानको खाँचो रहेको फाइजरले जनाएको छ । यस्तै ओमिक्रोनलाई नै लक्षित गरेर खोपको विकास गरिरहेको र त्यो खोप १०० दिन भित्र तयार हुने फाइजरको भनाइ छ ।