झापा । झापाको कनकाईमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कनकाई नगरपालिका– ४ कोटीहोम निवासी ३५ वर्षीय शम्भु लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार राति कनकाई–४ त्रिवेणी चौकस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको नम्बर नखुलेको पिकअपले मे ३ प ७०७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार घाइते लिम्बूको उपचारका क्रममा बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा मृत्यु भएको प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
मोटरसाइकल चालक कनकाई–४ बस्ने सागर लिम्बू घाइते भएको र उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने पिकअपको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।