काठमाडौं । फिल्म ‘छक्का पञ्जा ४’ ले २१ करोडको व्यापार गरेको छ।
फागुन १९ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले पाँच सातामा बक्सअफिसमा २१ करोड कलेक्सन गरेको वितरक मनोज राठीले जानकारी दिए।
छैटौँ सातामा पुग्दा पनि फिल्मलाई दर्शकको राम्रो साथ रहेको उनले बताए। उनी भन्छन्, ‘छक्का पञ्जा ४ लाई दर्शकको राम्रै साथ छ। पाँच सातामा फिल्मले २१ करोड कमाइ गरिसकेको छ। शुक्रवार र शनिवारको कलेक्सन भने आउन बाँकी नै छ।’
राम्रो व्यापार गरेतापनि यस फिल्मले ‘कबड्डी ४’ को रेकर्ड भने तोड्न सकेको छैन।
हेमराज बिसी निर्देशित फिल्म ‘छक्का पञ्जा ४’ राजनीतिक विषयवस्तुमा आधारित छ। फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरे ९माग्रे बुढा०, नीर शाह, निर्मल शर्मा, राज आचार्यलगायतका कलाकारहरूको अभिनय छ।
आमा सरस्वती मुभिजको ब्यानरमा बनेको फिल्मको प्रस्तुतकर्ता दीपक–दीपा हुन्। फिल्मका कार्यकारी निर्माता केदार प्रसाद घिमिरे र निर्मल शर्मा हुन्।