विराटनगर । कोसी प्रदेशको नाम खारेज हुनुपर्ने माग राखेर आन्दोलनरत पहिचान पक्षधरले लुकाएर राखेको सञ्चार सेट (वाकीटाकी) विराटनगरबाट बरामद भएको छ ।
सुरक्षा निकायले मात्रै प्रयोग गर्न मिल्ने संचार सेट विराटनगरको संगम पार्टी प्यालेसबाट प्रहरीले शुक्रबार बरामद गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले पार्टी प्यालेसभित्र लुकाएर राखेको अवस्थामा चार वटा सेट बरामद गरिएको जानकारी दिए ।
विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेका पहिचानवादीले संगम पार्टी प्यालेसमा ‘युवा दस्ता’ घोषणा कार्यक्रमको आयोजना गरेका थिए । ‘पहिचानका लागि युवा दस्ता’ नाम दिएर कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमस्थलबाट संचार सेट बरामद भएपछि थप अनुसन्धान अघि बढाइएको डीएसपी दाहालले बताए । बरामद गरेको सेट जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
यस्तो सेट सुरक्षा निकायबाहेक अरुले प्रयोग गर्न मिल्दैन । आवश्यकता परेमा सम्बन्धित निकायबाट स्वीकृति लिनुपर्छ । विशेष गरेर यस्तो सेट स्वीकृति लिएर सेक्युरिटी कम्पनीले र हाइड्रोपावर निर्माणस्थलमा प्रयोग गर्ने गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित निकायसँग अनुमति लिएर आन्तरिक संचारका लागि सुरक्षा गार्ड तथा पहाडी जिल्लातिर निर्माण गरिने हाइड्रोपावरभित्र यस्तो सेटको प्रयोग गर्ने गरिएको हो । प्रहरीका अनुसार पहिचान पक्षधरले आफूआफू कुरा गर्नका लागि यो सेटको प्रयोग गरिएको बताएका छन् । तर, बिना अनुमति प्रयोग गर्न नमिल्ने भएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले पहिचानका आधारमा प्रदेशको नाम राखिनुपर्ने र कोसी नाम खारेज हुनुपर्ने मागसहित आन्दोलनलाई जारी राखिएको बताए ।
गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोसी राखेको थियो । पहिचानलाई नसमेटिकन प्रदेशको नामकरण गरिएको भन्दै पहिचान पक्षधर असन्तुष्ट बनेका छन् ।