बिहे गरेको ६ महिनापछि श्रीमती पुरुष भएको खुलेपछि.....

न्युजलय ८ असार २०८०, शुक्रबार ०६:५८ मा प्रकाशित

उदयपुर ।  श्रीमती पुरुष भएको भन्दै उदयपुरका एक युवाले प्रहरीमा उजुरी दिएका छन्।

जिल्लाको बेलका नगरपालिका–६ बबलाका २८ वर्षीय नम्बर राईले ६ महिना अघि बिहे गरेर ल्याएको श्रीमती पुरुषमा परिणत भएको भन्दै बुधबार इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएका हुन्।

राईले भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ की युवतिसँग ६ महिनाअघि प्रेम विवाह गरेर घर भित्र्याएका थिए। तर, अहिले आएर एकाएक श्रीमती पुरुष भएको भन्दै आफूसँगै ल्याएर उजुरी दिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।

इप्रकाले दुवैलाई सँगै राखेर छलफल गराउने तयारी गर्दै गर्दा एक्कासि श्रीमती अस्वस्थ्य भएपछि उपचारार्थ धरान पठाइएको छ। घट्नाको वास्तविकता पत्ता लगाउन छलफल गराउने तयारी भइरहेका बेला एक्कासि श्रीमती बेहोस भएर नगर अस्पताल पठाएकोमा उच्च रक्तचाप देखिएपछि एम्बुलेन्समार्फत बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।

अनुसन्धानमा खट्ने प्रहरीका अनुसार महिला बन्ने व्यक्ति ३१ वर्षीय राजु राई हुन्। झट्ट हेर्दा पूर्ण रुपमा महिला देखिने उनी वास्तवमा भने पुरुष भएको अनुसन्धानबाट खुलेको छ।

प्रहरीमा उजुरी दिनुअघि नम्बरले नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका थिए। तर, नगरपालिका नीति कार्यक्रम बनाउने चटारोमा रहेको र वास्तविकता पत्ता लगाउन प्रहरीको सहयोग चाहिने भन्दै न्यायिक समितिले इप्रकामा पठाएको थियो।

अहिलेसम्म सँगै घरजम गरिबसेका उनीहरु ६ महिनासम्म ओछ्यान साझा नगरेपछि श्रीमान्लाई शंका लागेर हेर्दा श्रीमती महिला नभएर पुरुष भएको ठहर भएपछि प्रहरी गुहार्न आएको बताइएको छ।