बेलबारीमा बुहारीले सासू–ससुरालाई विष हालेर खाना खुवाएपछि.....

न्युजलय २३ मङ्सिर २०८२, सोमबार १२:०५ मा प्रकाशित

मोरङ । मोरङको बेलबारी नगरपालिका–२ मा बुहारीले सासू–ससुरालाई विष हालेर खाना खुवाएको आरोपमा पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा ३२ वर्षीया सुनीता कार्की रहेकी छन् । विष सेवनका कारण ७७ वर्षीया इन्द्रमाया राईको मृत्यु भएको छ भने ७० वर्षीय भक्तबहादुर राईको अवस्था गम्भीर छ।

शनिबार दिउँसो भक्तबहादुर राई घर नजिकैको खोल्सामा बेहोस अवस्थामा भेटिएको  प्रहरीले बताएको छ। स्थानीयले उद्धार गरेर घर ल्याउँदा उनकी पत्नी इन्द्रमाया राईसमेत घरमै ढलेको अवस्थामा भेटिएकी थिइन्।

त्यही घरस्थित खोरमा रहेका तीन वटा कुखुरा मरेको भेटिएपछि खानामा विष मिसाइएको घटनाको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुवैलाई विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

अस्पतालले इन्द्रमायाको राति १०ः४० बजेतिर मृत्यु भएको पुष्टि गरेको छ। भक्तबहादुरको अवस्था गम्भीर रहेको मोरङ प्रहरीले जनाएको छ । 

घटनास्थलबाट प्रहरी टोलीले विषादी भएको बट्टा अँगेनोमा जलाइएको अवस्थामा फेला पारेको छ। कुन प्रकारको विष प्रयोग गरिएको हो भन्ने परीक्षण बाँकी रहेको प्रहरीले जनाएको छ।

अनुसन्धानकै क्रममा वृद्ध दम्पतीसँगै बस्दै आएकी भतिजी बुहारी रहेकी सुनीतालाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा म्याद थपेर हिरासतमा राखिएको छ।

भक्तबहादुर र इन्द्रमायाका आफ्नै सन्तान छैनन्। उनीहरू भतिजो प्रशान राई र उनकी पत्नी सुनीता कार्की सँगै बस्दै आएका थिए। घटना हुँदा प्रशान घरबाहिर रहेका थिए।

सुनीताले किन विष हालिन् भन्ने कारण भने खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धानपछि मात्र वास्तविकता थाहा हुने प्रहरीले जनाएको छ।

पोस्टमार्टम, फरेन्सिक परीक्षण र प्रयोगशाला विश्लेषणपछि मात्र मृत्यु र विष प्रयोगबारे अन्तिम पुष्टि हुने प्रहरीले जनाएको छ।