राजविराज । सप्तरीको राजविराजमा रहेको एनआईसी एसिया बैंकको शाखाबाट एक व्यक्तिले फर्जी कागजातको आधारमा २ करोड ८० लाख रुपैयाँ ऋण लिएका छन् ।
अर्काको जग्गा आफ्नो रहेको भन्दै फर्जी लालपुर्जा, फर्जी रोक्का र फर्जी लिखतका आधारमा उक्त बैंकबाट राजविराज नगरपालिका–९ घर भएकी आसमा खातुन प्रोप्राइटर रहेको एएस ट्रेडर्स एन्ड सप्लायर्सले ऋण लगेको हो ।
ऋण प्रवाह भएको कम्पनी एएस ट्रेडर्स एन्ड सप्लायर्स यही माघ ९ मा घरेलु तथा साना उद्योग कार्यालय सप्तरी राजविराजमा दर्ता भएको देखिन्छ । खातुन प्रोप्राइटर रहेको उक्त सप्लायर्सलाई बैंकले ऋण दिँदा उनकी सासू बसिरन खातुनका नाममा रहेको १० कट्ठा ५ धुर जग्गा धितोमा राखेको छ । तर उक्त जग्गा रवीन्द्रकुमार यादवका नाममा दर्ता रहेको मालपोत कार्यालय सप्तरीले जनाएको छ । उक्त २२१ नम्बर कित्ताको जग्गा रवीन्द्रकुमार यादवका नाममा दर्ता रहेको र उनले तत्कालीन सिर्जना फाइनान्सबाट २० लाख रुपैयाँ ऋण लिँदा ०७४ साल चैत २८ देखि नै रोक्का छ ।
मालपोत कार्यालय नै नपुगी जग्गा रोक्का हुनु, मालपोत कार्यालयको फर्जी छाप, हस्ताक्षर प्रयोग गरेको कागजात पेस हुनु, त्यही कागजातका आधारमा ठूलो रकम ऋण दिनु, जग्गा मूल्यांकनमा बैंकले ध्यान नदिनुलगायत कारण उक्त घटनामा बैंकका राजविराज शाखा प्रबन्धक सन्तोषकुमार यादवसहितका कर्मचारीको समेत संलग्नताको आशंका गरिएको छ ।
घटना बाहिर आएपछि बैंकको अनुरोधमा १ करोड ९० लाख रुपैयाँ बिहीबार बैंकमा फिर्ता आएको छ । कर्मचारीहरु आफूहरुलाई झुक्याएर ऋण लिइएको भन्दै पन्छिएका छन् ।