जलिरहेको अवस्थामा फेला परेका विद्यालयका लेखापाल ढकालको मृत्यु

न्युजलय २१ जेठ २०८०, आइतबार ०७:३५ मा प्रकाशित

विराटनगर । जलिरहेको अवस्थामा फेला परेका मोरङको सुन्दरहरैंचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल मनिल ढकालको उपचारका क्रममा मृत्यु भएको छ । 

विद्यालयको शौचालयमा जलिरहेको देखेपछि स्थानीयले प्रहरीको सहयोगमा उनको उद्दार गरी तत्कालै उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्‍याएका थिए । कोशी अस्पतालले थप उपचारका लागि काठमाडौंंस्थित वर्न हस्पिटलमा रेफर गरेकोमा उपचारका लागि लैजाने क्रममा शनिबार साँझ ढकालको मृत्यु भएको बताइएको छ  ।

लेखापाल ढकालले बिषादीजन्य वस्तु सेवन गरेपछि आफैं चढ्ने प्रदेश १–०२–०४३ प २४४९ नम्बरको मोटरसाइकलबाट पेट्रोल निकालेर आफैंलाई खन्याएर आगो लगाएको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ । विद्यालयको शौचालयमा बिषादीको खाली बट्टा र पेट्रोल खन्याइएको बोतल समेत फेला परेको मोरङ प्रहरीको भनाई छ ।

४० वर्षीय ढकालको शरीरको माथिल्लो भाग अधिकांश जलेको थियो । ढकाललाई विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा स्थानीयले शनिबार बिहान देखेपछि उद्दार गरेका थिए । घटनाबारे जानकारी पाएपछि पुगेको प्रहरीले ढकालले किन आफ्नै शरीरमा आगो लगाए भन्ने विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए ।