नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी

न्युजलय २० मङ्सिर २०७८, सोमबार ०७:०२ मा प्रकाशित

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा संस्थापन पक्षका उद्धव थापा विजयी भएका छन्।


संस्थापन इतर पक्षका प्रत्यासी गुरुराज घिमिरेलाई २ मतले पछि पार्दै थापा प्रदेश सभापतिमा विजयी भएका हुन्। गएराति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार थापाले ८४४ मत र घिमिरेले ८४२ मत पाएका छन्।


थापा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको तर्फबाट तथा घिमिरे वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोईराला पक्षको तर्फबाट प्रदेश सभापतिमा उठेका थिए। प्रदेश सभापतिमा निर्वाचित थापा कांग्रेस झापाका पूर्वसभापति हुन् भने घिमिरे कांग्रेस केन्द्रीय सदस्य हुन्।


प्रदेश पदाधिकारीमध्ये एक बाहेक सवै थापा प्यानलका उम्मेद्वार विजयी भएका छन्। उपसभापतिमा टंकप्रसाद राई ९८४७० र रमेशजङ्ग रायमाझी (८९१) विजयी भएका छन्।


महामन्त्रीमा उमेश थापा (८२३) र भूपेन्द्र राई (८२४) विजयी भएका छन्। थापा घिमिरे प्यानलबाट विजयी भएका हुन्।


यस्तै, सह–महामन्त्री (महिला) तर्फ प्रमिलाकुमारी गच्छेदार (८३७), सह–महामन्त्री (खुला) तर्फ खड्ग फागो (१०२६) र विनोदकुमार बस्नेत (७४७) विजयी भएका छन्।


अन्य पदको मत गणना जारी छ। कुल १ हजार ८ सय ४ मत रहेको प्रदेश निर्वाचनमा १ हजार ७५३ मत खसेको थियो। निर्वाचन समितिले घोषणा हुन बाँकी छ।