देउता चढेको भन्दै श्रीमतीलाई अगुल्टो झोस्ने श्रीमानलाई दुई वर्ष कैद

न्युजलय २५ मङ्सिर २०७८, शनिवार ११:३५ मा प्रकाशित

काठमाण्डौ । आफूलाई देउता चढेको भन्दै श्रीमतीको शरीरमा तातो पानी र अगुल्टो झोस्ने श्रीमानलाई जिल्ला अदालत दैलेखले दुई वर्ष कैद र  २० हजार जरिवाना फैसला सुनाएको छ ।

कसुर गर्ने युवकले १२ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला सुनाएको छ । 

भैरवी गाउँपालिका–५ गौरी सल्ला २६ वर्षीय दीपक नेपालीले श्रीमती २६ वर्षीय हस्तना नेपालीलाई पटकपटकको घरेलु हिंसापछि ज्यानै जानसक्ने सम्मको कसुर ठहर गर्दै फैसला भएको हो । 

०७८ साउन २४ गते राति दीपकले आफूलाई देउता आएको बहानामा शरीरमा तातो पानी खन्याउँदै अगुल्टो झोसेका थिए । जिल्ला प्रहरी कार्यालय दैलेखमा साउन २५ गते पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरीले साउन २५ गते नै दिपकलाई पक्राउ गरेको थियो ।

दैलेख जिल्ला अस्पतालमा तीन साता उपचार गरिएको पीडितको स्वास्थ्य अवस्था र निरन्तर घरेलु हिंसा हुँदै शरीर पोल्ने सम्मको घटना गराएको भन्ने प्रहरी अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले दैलेख जिल्ला अदालतमा ०७८ भदौ १६ गते ज्यान मार्ने उद्योगको अभियोग पेस गरेको थियो ।