विराटनगरमा निषेधित क्षेत्र घोषणा

न्युजलय १३ जेठ २०८०, शनिवार ०६:३४ मा प्रकाशित

विराटनगर । कोशी प्रदेश सभाको बैठक यही जेठ १४ गतेका लागि आह्वान गरिएको छ । बैठकलाई लक्षित  गरेर प्रदेशको नामकरणबाट असन्तुष्ट पक्षले आन्दोलन गर्ने चेतावनी दिएपछि  शनिबारदेखि  विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपछि विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस हुने गरेकाले शान्ति सुरक्षा चुस्त राख्न शनिवार बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ । 

जसअनुसार पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।

निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले बताए।

गत फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले कोशी नामकरण गरेको थियो। त्यसयता कोशी नामकरणमा असहमति जनाउने विभिन्न समूह तथा पक्षले धर्ना, जुलुस प्रदर्शन गर्दै आएका छन् ।