स्वागत टोलविकास संस्थाद्वारा इटहरीमा सञ्चारकर्मीसहित विभिन्न व्यक्ति सम्मानित

न्युजलय १३ साउन २०८०, शनिवार ०६:५० मा प्रकाशित

इटहरी । इटहरीस्थित स्वागत टोल विकास संस्थाले आफ्नो १८ औं स्थापना दिवसको अवसरमा तीन जना पत्रकारहरुलाई सम्मान गरेको छ । पदम पवित्रा पत्रकारिता पुरस्कारबाट सप्तकोशी टेलिभिजनकी रञ्जना पौडेल, ग्यालेक्सी टेलिभिजनका पत्रकार प्रकाश तिम्सिना र पुर्वी हटलाइन दैनिकका राजन केडीलाई सम्मान गरिएको हो । तीनै जनालाई जनही १५ हजार रुपैया नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।


इटहरी उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको  स्वागत टोल विकास संस्थाको भवनमा आयोजित कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले उनीहरुलाई सम्मान गरेका थिए । 


अग्रज सञ्चारकर्मी दुर्गाबहादुर विष्टले स्थापना गरेको पदम पवित्रा अक्षयकोषबाट वर्षेनी एक जना पत्रकारलाई पुरस्कृत गर्ने गरिएको थियो । तीन वर्षपछि पहिलो पटक भएको संस्थाको स्थापना दिवसको अवसरमा तीन वर्षको पुरस्कार एकैपटक प्रदान गरिएको हो । 


कार्यक्रमका अवसरमा मातापितालाई राम्रो स्याहार गर्ने मोहन प्रसाद गुरागाई, श्रीमती कमला गुरागाई र जमुना खुलाललाई नगद १० हजार ५ रुपैयासहित प्रमाणपत्र दिएको थियो । यसैगरी उत्कृष्ट नजिता ल्याएर एसइइ पास गर्ने टोल विकासका सदस्यका सन्ततीहरुका साथै दलित प्रोत्साहन, उत्कृष्ट खेलाडी, उत्कृष्ट सञ्चालक, अपाङ्ग सम्मान लगायतका सम्मानसमेत वितरण गरेको थियो । 


सोही टोलबाट प्रदेश सभा सदस्य बन्न सफल मिना श्रेष्ठलाईसमेत सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष भद् थापा मगरले बार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन कोषाध्यक्ष कमला पोखरेलले प्रस्तुत गरेका थिए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरप्रमुख पौडेलले टोल विकासहरुको सक्रियताले विकास निर्माणका काममा स्थानीय सरकारलाई घच्घचाउने काम हुदै आएको भन्दै टोल विकासलाई स्थानीय सरकारले विकास निर्माणका काममा जोडेर सहयोग गर्ने समेत बताए ।


चण्डिका निरौलाको संयोजकत्वमा स्वागत टोल विकासको १८औ स्थापना दिवस मनाइएको हो । स्वागत टोल विकास संस्था आफनै भवनमा रहेको आफनो टोल को विकासका लागि विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।