विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ मा पाहुना आएकी एक महिलाको शव मंगलबार(आज) सिंघिया खोलामा भेटिएको छ।
सुनसरीको गढी गाउँपालिका–३ छिटाहा घर भएकी ३५ वर्षीया ठूलीदेवी चौधरीलाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला पारिएको मोरङ प्रहरीले जानकारी दिएको छ । विराटनगर –८ स्थित सिंघिया खोलामा घोप्टो परेको अवस्थामा आज बिहान शव फेला परेको हो।
उनी कटहरी–२ आदर्श टोलमा रहेको नन्द श्यामकुमारी चौधरीको घरमा सोमबार पाहुना आएकी थिइन्। ‘नन्दको घरमा राति १२ बजेसम्म गफगाफ गरेर बसेको र त्यसपछि सबै जना सुतेको खुलेको छ। डेढ घण्टापछि हेर्दा सुतेको ठाउँमा भाउजूलाई नदेखेपछि नन्द श्यामकुमारीले आफन्तलाई खबर गरेको पाइयो प्रहरीले जनाएको छ ।
आफ्नो घर पनि नगएको पाइएपछि आफन्तले खोजी सुरु गरेको प्रहरीले जनाएको छ । खोलामा डुबेको अवस्थामा शव फेला परेपछि प्रहरीलाई घटनाको जानकारी बताइएको छ ।
आफन्तले प्रहरीलाई दिएको जानकारी अनुसार ठूलीदेवीको शरीर काँप्ने समस्या थियो। प्रहरीलाई आफन्तले भने अनुसार धामीझाँक्रीको काम गर्ने माताले गाउँकै मान्छेले बिगारेको भनेपछि ठूलीदेवीले निक्कै तनाव लिएकी थिइन्।
त्यही तनावका कारण खोलामा हामफालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीले ठूलीदेवीलाई झारफुक गर्ने माताका बारेमा खुल्न बाँकी रहेको जनाएको छ। ठूलीदेवी पाहुना गएको नन्दको घर खोलानजिकै छ।
प्रहरीका अनुसार शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल लगेर विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको छ।