काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन वा सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन भएपछि त्यसलाई अनिवार्य रुपमा आफ्नो वेबसाइटमा राख्न मेनपावर कम्पनीहरुलाई निर्देशन दिएको छ ।
विभागले इजाजत प्राप्त संस्थाबाट हुने वैदेशिक रोजगारसम्बन्धी विज्ञापन ‘अटो अप्रुभ’ हुने व्यवस्था गरेको पनि जनाएको छ । वैदेशिक रोजगार ऐन, २०६४ अनुसार विभागबाट इजाजत प्राप्त संस्थाले वैदेशिक रोजगारसम्बन्धी विज्ञापन एक पटकभन्दा बढी पत्रपत्रिकामा प्रकाशन गर्न नपाउने विभागका महानिर्देशक उमाकान्त आचार्य बताउँछन् ।
तर, पछिल्लो समय अधिकांश कम्पनीले एउटै विज्ञापन धेरै पटकसम्म पत्रपत्रिकामा प्रकाशन गरिएको पाइएकाले यस्तो नियम लागू गरिएको उनले बताए ।
त्यसैले विभागले राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गरिएको वैदेशिक रोजगार सम्बन्धी विज्ञापन पुनः पत्रपत्रिकामा प्रकाशन गर्न रोक लगाई संस्थाको वेबसाइटमा नै राख्न निर्देशन दिइएको महानिर्देशक आचार्यको भनाइ छ ।
साथै, विभागबाट यसको नियमित अनुगमन हुने भएकाले सो बमोजिम गरिएको नपाइएमा कानून बमोजिम कारबाही हुने पनि उनले बताएका छन् ।