काठमाडौँ । पति पत्नीको विवादमा झापाको मेचीनगर घर भएर काठमाडौँ बस्दै आएका केशव घिमिरेमाथि कुटपिट भएको छ ।
पत्नी ममता राईसँग उनको विवाद छ । सम्बन्ध विच्छेदको मुद्दा काठमाडौँ जिल्ला अदालतमा चलिरहेको अवस्थामा मिलापत्र गर्न बोलाएर पत्नी राईका मतियारहरूले आफूलाई काँडाघारीमा कुटपिट गरेको घिमिरेले आरोप लगाएका छन् ।
घिमिरेले जिल्ला सरकारी वकिल कार्यालय मार्फत दिएको जाहेरी प्रहरी वृत्त नयाँ बानेश्वरमा दर्ता भएको छ । ममता र काँडाघारी बस्ने शम्भु खत्रीसहित ४ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
ममता राई राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत छिन् । पुस २० मा मुद्दा मिलापत्र गर्ने प्रयोजनका लागि बोलाएर शम्भु राईको समूहले आफूलाई निर्घात कुटपिट गरेको घिमिरेले आरोप लगाएका छन् । तर, अर्को पक्षले घिमिरे आफैँ काँडाघारीस्थित खत्रीको डेरामा पुगेको प्रहरीलाई बताएका छन् ।