टीकाको साइत मङ्गलबार बिहान ११ः०२ बजे उत्तम

न्युजलय ७ कार्तिक २०८०, मङ्गलबार ०१:२५ मा प्रकाशित

काठमाडौं । यस वर्ष कात्तिक ७ गते मङ्गलबार विजया दशमी परेको छ । विजया दशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको हो । 


त्यसभन्दा पहिले दुर्गा विसर्जन गर्नुपर्छ, १० बजेट ३७ मिनेटमा दुर्गा विसर्जन गर्नु उत्तम हुन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व भव्य रुपमा मनाउँछन् ।


यस दिन मान्यजनबाट टीका र जमरा तथा आशीर्वाद ग्रहण गरिन्छ । आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठुलाबडाका हातबाट नव दुर्गाभवानीको प्रसाद टीका, जमरा थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि, दीर्घायु एवम् उत्तर उत्तर प्रगतिको कामना होस् भनी आशीर्वाद लिइन्छ ।


शास्त्रीय मान्यता अनुसार दशैँको टीका लगाउँदा चन्द्रमालाई दाहिने पट्टि पारेर लगाउँदा निकै शुभ हुन्छ । टीका लगाइदिने व्यक्तिको दायाँतर्फ चन्द्रमा पर्छ भने टीका लगाइमाग्ने व्यक्तिको सम्मुख पर्छ । यसरी बसेर टीका लगाउँदा शुभ हुने धार्मिक विश्वास छ ।