घोडेटार । भोजपुरको हतुवागढी १ घोडेटार स्थित ‘छैठौं भिमदल राई स्मृति हतुवागढी गोल्डकप २०७८’ सुरु भएको छ ।
बिहीबार हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम कुमार राईको उपस्थितिमा उक्त पुरुष फुटबल प्रतियोगिताको उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहमा बोल्दै हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले हतुवागढी गोल्डकपले खेलाडीहरुको सीप र कलाको विकासका लागि मद्दत गर्ने उल्लेख गरे ।
अध्यक्ष राईले यस प्रतियोगिताको तेस्रो संस्करण सम्म सञ्चालन गरिएको महिला फुटबल प्रतियोगितालाई पनि निरन्तरता दिनु आवश्यक रहेको र त्यसका लागि पालिकाले गर्नु पर्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
भिमदल स्मृती प्रतिष्ठान नेपालद्वारा श्री सगरमाथा माविको खेल मैदानमा आयोजित उक्त गोल्डकप पुष १ गते देखि ४ गते सम्म सञ्चालन हुने बताइएको छ ।
विशिष्ट समाजसेवी स्वर्गीय भिमदल खालिङ राईको स्मृतिमा खुल्ला पुरुष फुटबल प्रतियोगिता अर्थात छैठौं भिमदल राई स्मृति हतुवागढी गोल्डकपको आयोजना गरिएको आयोजकले जनाएको छ ।
हतुवागढी क्षेत्रकै सबैभन्दा प्रतिष्ठित र धेरै नगद पुरस्कार रहेको यस प्रतियोगितामा जम्मा १६ टिमहरुको सहभागि रहेको आयोजकले जनाएको छ ।
यस प्रतियोगतामा हिजो ४ वटा खेलहरु सम्पन्न भएका छन् । बिहीबार भएको उद्घाटन खेलमा मिर्मिरे क्लब हतुवागढीले बासिखोरालाई १-० ले हराउँदै खेलको विजयी सुरुवात गरेको छ ।
हिजो सम्पन्न दोस्रो खेलमा क्षेमाकन्या फुटबल क्बलले होम्ताङ्ग बी लाई ३–१ गोल अन्तरले पराजित गरेको छ । तेस्रो खेलमा होम्ताङ्ग ए लाई बालंखा फुटबल क्लबले ३–० गोल अन्तरले विजयी भएको छ ।
त्यस्तै हिजोको चौथो खेलमा डिफेण्डीङ्ग च्याम्पियन सुन्तुम राक्तुम फुटबल क्लब र थलथले फुटबल क्लब धनकुटाको खेल १-१ गोलमा सकिए पछि भएको टाइब्रेकरको आधारमा खेलको निर्णय गरिएको थियो ।
टाईव्रेकरमा थलथले फुटबल क्लबने ४–२ गोल खाँदै खेल गुमाएको छ ।
भिमदल स्मृती प्रतिष्ठान नेपालका अध्यक्ष तेज बहादुर राईको अध्यक्षता उद्घाटन कार्यक्रममा किरात राई यायोख्खा केन्द्रीय सदस्य किवाङहाङ राई, शिक्षाप्रेमी इश्वरमान राई, स्थानीय बुद्धिजीवी नारायण निरौला, हतुवागढी १ का वडाध्यक्ष कुमार विष्ट, हतुवागढी ४ का वडाध्यक्ष चन्द्र बहादुर बिष्ट, हतुवागढी ७ का वडाध्यक्ष ध्यान कुमार राई, हतुवागढी ५ का वडाध्यक्ष जोर कुमार राई, जिल्ला खेलकुद विकास समिति भोजपुरका अध्यक्ष प्रकाश वस्नेत, नेपाली कांग्रेस हतुवागढीका सभापति बाल कुमार राई, सगरमाथा माविका प्रधानध्यापक हेमराज न्यौपाने लगायत खेलप्रेमी युवाहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको सेमी फाइनल खेलबाट मेन अफ द म्याच र विधागत पुरस्कारको पनि व्यवस्था गरिएको छ । आयोजकले प्रतियोगिताको गोलनेपाल डटकमबाट प्रतक्ष प्रशारण गर्ने व्यवस्था पनि गरेको छ । जुन भोजपुर जिल्लाको फुटबल इतिहासमा पहिलो पटक प्रतक्ष प्रसारण हुने आयोजकको दाबी रहेको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक भीमदल राई स्मृति प्रतिष्ठान रहेको छ भने सह–प्रायोजकको रुपमा हतुवागढी गाउँपालिका रहेको छ ।
प्रत्येक २/२ वर्षमा प्रतियोगिता आयोजना गरिने भए पनि गत वर्ष कोभिड १९ का कारण प्रतियोगिता सञ्चालन हुन सकेको थिएन ।
यस प्रतियोगिताको विजेता टिमले नगद रु.१ लाख ६६ हजार ६ सय २२ रुपैयाँ नगद, ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने उप विजेता टिमले १ लाख १ हजार ३० रुपैयाँ नगद सहित मेडल र प्रामण पत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिताको तेस्रो संस्करण सम्म महिला तथा पुरुष फुटबल प्रतियोगिता आयोजना गरेको भए पनि विभिन्न कारण तेस्रो संस्करण पछिका प्रतियोगिताहरुमा खुल्ला पुरुष फुटबल प्रतियोगिता मात्र सञ्चालन हुदै आएको छ ।