पुनः आइतबार सार्वजनिक बिदा दिनुपर्ने आयल निगमको प्रस्ताव

न्युजलय २० असार २०७९, सोमबार ०७:५६ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले आइतबार सार्वजनिक बिदाको व्यवस्था पुनः लागू गर्न माग गरेको छ । पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै सरकारले यसअघि जेठ महिनाभर आइतबार सार्वजनिक बिदा गरेको थियो । 


चौतर्फी विरोध भएपछि सरकार सो निर्णयबाट पछि हटेको थियो । आइतबार बिदा गर्दा पेट्रोलियम पदार्थको खपतमा ११ प्रतिशतले कमी आएको निगमले बताएको थियो । 


सरकारले हटाएको आइतबार सार्वजनिक बिदाको व्यवस्था पुनः लागू नगरी नहुने अवस्था आएको पनि निगमले जनाएको छ । इन्धनको बढ्दो मूल्यका कारण वित्तीय अवस्था नाजुक बनेको भन्दै निगमले सोमबार सरकारलाई १० वटा उपाय सिफारिस गरेको छ ।

 

निगमका प्रवक्ता विनितमणि उपाध्यायकाअनुसार इन्धनको मूल्य वृद्धिका कारण मुलुकको अर्थतन्त्र र निगमलाई जोगाउन यस्ता उपाय तत्काल अवलम्बन गर्न आग्रह गरिएको हो । 


निगमले सरकारलाई पठाएको सुझाबमा डिजेल र पेट्रोल गाडीको आयात प्रतिबन्ध गर्न, सरकारी, निजी र दुई पांग्रेसहितका सबैखाले सवारीसाधान पूर्ण क्षमतामा सञ्चालन गर्न, जोरबिजोर प्रणाली कार्यान्वयनमा ल्याउन, छोटो दूरीमा सवारी साधनको प्रयाग नगर्न, ढुवानीका सवारीसाधन पूर्ण क्षमतामा चलाउने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ । 


निगमले अधिकतम मात्रामा सवारीसाधन तथा घरायसी प्रयोगमा विद्युत् खपत गर्ने वातावरण मिलाउन पनि सरकारलाई भनेको छ । इन्धनको खपत नघट्ने र आर्थिक स्रोत पनि नजुट्ने अवस्था बनेपछि सरकारसँग फेरि खपत कम गर्ने उपायका लागि आग्रह गरिएको उपाध्यायले बताए ।