आर्यनको फिल्म ‘डिसेम्बर फल्स’ को टिजर सार्वजनिक

न्युजलय २ मङ्सिर २०७९, शुक्रबार १२:३५ मा प्रकाशित

काठमाडौं । १५ पुषबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डिसेम्बर फल्स’ को टिजर सार्वजनिक भएको छ । 

लभ, एक्सन, सस्पेन्स र थ्रिलर समेटिएको १ मिनेट १५ सेकेन्डको टिजरमा अभिनेता आर्यन सिग्देलको साउथ शैलीको एक्सनका झलक छन् । उनको रोमान्टिक मुड समेत देख्न सकिन्छ ।

टिजरमा अभिनेत्री उपासनासिंह ठकुरी नर्सको भूमिकामा छिन् । प्रवीण झाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको फिल्मलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । रिजालले यसअघि ‘वान डे’, ‘कसम’, ‘धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसकेका छन् ।

फिल्ममा आर्यन र उपासनाको अलवा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणा लगायतको अभिनय छ । 

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’ को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालसँगै राजकुमार भट्ट छन् ।