काठमाण्डौ । कमेडियन अपूर्व क्षितिज सिंहविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले जातीय विभेद र अभद्र व्यवहार विरुद्धको कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
जातीय विभेद सम्बन्धी कसुर गरेको मुद्दा जिल्ला अदालतमा दर्ता गर्नुपर्छ । प्रहरीले उनलाई असोज ३१ मा दोस्रोपटक पक्राउ गरेर हिरासतमा राखेको छ । कोरोना भाइरस संक्रमण भएपछि यसअघि उनी भदौ २२ मा हाजिर जमानीमा रिहा भएका थिए ।
अपूर्वविरुद्ध अभियोग पत्र तयार भइरहेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ ।
बुधवार सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेमा बिहिबार थुनछेक बहस शुरु हुन्छ । जातिय विभेद सम्बन्धी कसुरमा ३ वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ । मुद्दा दर्ता गर्दा आरोपीलाई पनि अदालतमा उपस्थित गराउनुपर्छ ।
प्रहरीले उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा पनि अनुसन्धान गरेर प्रतिवेदन बुझाएको छ । सिंहलाई बिहिबार मिसिलसँगै अदालतमा उपस्थित गराउने सरकारी वकिल कार्यालयको तयारी छ ।
अपूर्व माथी नेवाः समुदायको भावनामा आँच पु¥याएको आरोप छ । कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकको सामग्रीमा नेवारी समुदायले आपत्ति जनाएको थिए । विवाद भएपछि सिंहले सो भिडियो युट्युबबाटै हटाएका छन् ।