काठमाडौं । जाजरकोट आसपासलाई केन्द्र बनाएर शुक्रबार मध्यराती गएको भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा ३७ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ ।
जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिसचन्द्र शर्माका अनुसार जाजरकोटमा मात्र ३७ जनाको मृत्यु भएको पुष्टि भएको र पुष्टि हुन बाँकी थप ४३ जनाको पनि मृत्यु भएको विवरण प्राप्त भएको छ । थप विवरण आएको ठाउँमा प्रहरी परिचालन गरी पुष्टि हुने क्रम जारी छ ।
यस्तै भूकम्पबाट रुकुमपश्चिममा पनि अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । रुकुमपश्चिमका प्रमूख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार जिल्लाको आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
थप विवरण पनि आउँने क्रम जारी छ । भूकम्पमा परी दुईवटा पालिकामा ५३ जना घाइते भएका हुन् । घाइतेहरुको मिसन अस्पताल चौरजहारि, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो ।