चोरी भएको बाइक एक महिनापछि भेटिँदा चिन्नै गाह्रो

न्युजलय ३२ साउन २०८०, बिहिबार ०२:२५ मा प्रकाशित

इटहरी । धरानका राजकुमार राइको नाममा रहेको को ३४ प ४७७० नम्बरको पल्सर बाइक गत असार ३१ गते चोरी भयो । धरान १७ स्थित हुलाकी मार्गमा राखेको ठाउँबाट बाइक गायब भयो ।


प्रहरीमा रिपोर्ट दिएको एक महिनापछि बाइक त फेला पर्यो, तर बाइक धनीलाई आफ्नै बाइक चिन्न गाह्रो पर्यो । नपरोस् पनि कसरी, बाइकको रंगरोगन पुरै परिवर्तन गरिएको थियो । रातो कालो रंगको बाइकमा अनेकन रंग लगाइएको थियो । सुनसरीको बराहक्षेत्रस्थित महेन्द्रनगर क्षेत्रमा प्रहरीले गरेको चेकजाँचका क्रममा उक्त बाइक फेला परेको हो ।  


बाइक चोरीको आरोपमा तीन जना पक्राउ परेका छन् भने दुई जनालाई महेन्द्रनगर प्रहरीले धरान पठाएको छ ।


बाइक धनी भने बाइक भेटिएपछि थप अन्योलमा छन् । नभेटिँदा पनि भेटिएन भनेर चिन्ता, भेटिएपछि पनि अब के गर्ने भन्ने चिन्ता भएको बताए । पुरानै स्वरुपमा फर्काउनसमेत थप खर्च लाग्ने भएपछि उनी हैरान भएका हुन् ।


ट्राफिक प्रहरी कार्यालयले राजमार्गमा गुड्ने बाइकको कागजात जाँच गर्ने गरीएपनि भित्री ग्रामिण भागमा गुड्ने सवारी साधनको कागजात हेर्दैन । त्यसैले चोरीका बाइकहरु अक्सर ग्रामिण क्षेत्रमा यातायातको लागि प्रयोग गरिन्छन् । खरीदकर्ताहरुले सस्तोमा किन्छन् र नवीकरण नगरी मर्मत मात्र गरेर चलाइरहन्छन् । सोही क्रममा धरानबाट हराएको उक्त बाइक महेन्द्रनगरमा भेटिएको हो । 


सो क्षेत्रमा अझै पनि दर्जनौं बाइकहरु विना कागजात सञ्चालनमा रहेको बताइएको छ ।