इलाम माई नगरपालिको फनपार्क हटाउन अख्तियारको पत्र

न्युजलय ८ बैशाख २०८०, शुक्रबार ११:४८ मा प्रकाशित

इलाम । इलामको माई नगरपालिका –२ मा  निर्माण गरेको फनपार्क हटाइने भएको छ । 

फनपार्कले वन र खोलाको सार्वजनिक जग्गा मिचेको ठहर भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा खाली गराउन जिल्लाका निकायलाई पत्राचार गरेको छ ।

अख्तियारको इटहरीस्थित कार्यालयले जिल्ला प्रशासन कार्यालय, वन डिभिजन र माई नगरपालिकालाई पत्राचार गरी पार्कले ओगटेको सार्वजनिक जग्गा खाली गराइ त्यसको सुरक्षा, संरक्षण र सम्वर्धन गराउन भनेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए ।

सार्वजनिक जग्गा खाली गराउनेबारे बिहीबार सदरमुकाममा सर्वदलीय बैठक बसेको थियो सो बैठकले अख्तियारको निर्णय कार्यान्वयन गराउने निर्णय गरेको बताइएको छ ।  त्यसपछि प्रशासन, वन, मालपोत र नापी कार्यालयको बैठक बसेर ३५ दिनभित्र पार्कले ओगटेको सार्वजनिक जग्गा खाली गर्न सार्वजनिक सूचना गर्ने निर्णय भएको उनले जानकारी दिए ।

हेप्पी ड्रिम्स चेप्टी प्रालिले करोडौं रुपियाँको लगानीमा बनाएको फनपार्कले २ सय १८ रोपनी जग्गा ओगटेको छ । यसमध्ये १ सय ३२ रोपनी पर्ती र माइखोलाको जनिएको तथा ४५ रोपनी सामुदायिक वनको रहेको अख्तियारले जनाएको छ । बाँकी ४१ रोपनी मात्र प्रालिको स्वामित्वमा देखिएको छ । 

गत साउन १० गते अख्तियारले फनपार्कले ओगटेको सार्वजनिक जग्गा खाली गराउने निर्णय गरेको थियो । साउन २० मै पत्र आए पनि दुई पटक बसेका जिल्लास्थित निकायको बैठक निष्कर्षमा पुग्न नसकेपछि बिहीबार लामो समयपछि पुनः बैठक बसेको हो ।