काठमाडौं । आज चैत्रशुक्ल नवमी अर्थात् रामनवमी। सनातन हिन्दु धर्मावलम्बीले भगवान् रामको पूजाआराधना गरी यो पर्व मनाउँदै छन्।
त्रेतायुगमा भगवान् विष्णुको सातौँ अवतारको रूपमा अयोध्यामा जन्मिएका राम मर्यादापुरूषका रूपमा परिचित छन्। अयोध्याका राजा दशरथका जेष्ठ पुत्रका रूपमा कौशल्याको गर्भबाट यही तिथिमा रामको जन्म भएको श्रीमद्भागवत महापुराण नवमस्कन्ध दशौँ अध्यायमा उल्लेख छ।
रामनवमीका अवसरमा काठमाडौंमा बत्तीसपुतली र पाशुपतक्षेत्रस्थित राममन्दिरमा भक्तजनको घुइँचो लागेको छ। रामनवमीकै दिन वासन्ती नवरात्र पूरा हुन्छ।