काठमाडौं । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग खेली मनाइँदैछ ।
वसन्त ऋतुको आगमनसँगै रङ, उमंग तथा आपसी सद्भावको सन्देश बोकेको फागु पर्व आज देशका पहाडी तथा हिमाली जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदै छ भने तराईका जिल्लाहरूमा परम्पराअनुसार भोलि मंगलवार मनाइने छ ।
त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
त्यसैबेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।