इटहरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

न्युजलय १२ माघ २०८२, आइतबार ०६:०० मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिका–६ मा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००४ क ३१८१ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री धनकुटा घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा बसोबास गर्दै आएका अन्दाजी ४५ वर्षका पूर्णप्रसाद राईको मृत्यु भएको हो ।

घटनास्थलबाट उपचारका लागि प्रहरीको भ्यानमार्फत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएपनि शनिवार  चिकित्सकले मृत घोषणा गरेका छन्।

दुर्घटनामा संलग्न ट्रक र चालक जिल्ला बारा, कलैया–१६ का २९ वर्षीय उपेन्द्र यादवलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाको कारण ट्रकको तीव्र गति रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।