इटहरीका दुई सहकारी सम्मानित

न्युजलय २१ चैत २०८०, बुधबार १२:२२ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाको सहकारी शाखाले‌ इटहरीमा रहेका २ सहकारी संस्थालाई सम्मानित गर्दै ६७ औं राष्ट्रिय सहकारी दिवस मनाएको छ । राष्ट्रिय सहकारी दिवसको अवसरमा कार्यक्रम गर्दै इटहरी ५ मा रहेको जुनतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड तथा इटहरी ६ मा रहेको अबिरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सम्मान गरेको हो । 


कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा इटहरी उपमहानगरपालिका कार्यालयका नगरप्रमुख हेमकर्ण पौडेलले नगरपालिकाको सहकारी नियमन गर्ने कुरामा नगर चनाखो रहेको बताएका थिए । पालिकाले सहकारी निति तथा कानुन निर्माण गरि नियमन गर्ने आफ्नो कर्तव्यअनुसार काम गरिरहेको बताएका थिए । 


कार्यक्रमका सभापती रहेका पालिकाका प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले इटहरी नगरक्षेत्रमा रहेका सहकारी संस्थालाई विश्वसनिय र प्रभावकारि ढङ्गबाट सञ्चालन गर्न नगरले खबरदारी गरिरहेको जानकारी दिए । सहकारी शाखा प्रमुख बालकुमार पोख्रेलले एक वर्षभरि गरेका कामहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए । 


कार्यक्रममा नगरभित्रका सहकारीका अभियानकर्मी,नगरका जनप्रतिनिधिहरूको तथा विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।