इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गरेको छ ।
सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरले युवा इन्जिनियरहरुको सहयोगमा विद्युतिय सवारीमा रुपान्तरण गरेको हो ।
उपमहानगरपालिकाले सम्याति इलेक्ट्रो व्हील्स प्रालिसँग सम्झौता गरेर पहिलो चरणमा दुई वटा मोटरसाइकल रुपान्तरण गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।
संघिय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारीसाधनलाई लागतका आधारमा विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेको थियो ।
देशमै पहिलो पटक स्थानिय तहले यो कामको सुरुवात गरेको पौडेलको दाबी छ । ‘कुनै स्थानीय तहले यसरी बाइक परिवर्तन गरेको पहिलो पटक हो,’ उनले भने ।
इटहरी उपमहानगरपालिकाले सडक पुर्वाधारको गुणस्तर परिक्षण गर्न आफ्नै ल्याब सञ्चालनमा ल्याएको छ ।
ल्याबको स्थापना गरिएसँगै आसपासका क्षेत्रबाट पूर्वाधार गुणस्तर परीक्षण गर्न सहज भएको इन्जिनियर राजन दाहालले बताए । ल्याब नहुँदा इटहरीभन्दा बाहिर लगेर परीक्षण गर्नुपर्ने बाध्यता थियो ।
यसैगरी, खाद्य तथा दैनिक उपभोग्य वस्तुको गुणस्तर मापनका लागि खाद्य परीक्षण प्रयोगशाला पनि सुरु गरिएको छ । बजार अनुगमन गर्दा कुनै पनि वस्तुमा कैफियत भेटिदा जाँच गर्न सहज हुने खाद्य अधिकृत नवलकिशोर भट्टराईले बताए ।
उपमहानगरपालिकाकी उपमेयर संगीता चौधरीले उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिएर यस्तो ल्याबले खानेकुराको गुणस्तर जाँच्ने बताइन् ।
यसैगरी इटहरी उपमहानपालिकाले सेवाग्राहीलाई सेवा दिनका लागि नागरिक सहायता कक्ष पनि स्थापना गरि सञ्चालन गर्न थालेको छ । यस सहायता कक्षमा सेवाग्राहीले पालो कुर्ने, आराम गर्ने, आफूलाई आवश्यक सेवाका प्रक्रियासम्बन्धि जानकारी लिने कार्य गर्नेछन् । सेवाग्राहीलाई चिया÷कफिको समेत व्यवस्था हुनेछ ।
सो क्रममा मेयर पौडेलले इटहरीमा २० महिनाको अवधिमा भएका कामहरुको बारेमा जानकारी गराएका थिए । उनले दुई वर्षभित्रमा इटहरीको काव्यवाटिकामा सभागृहको निर्माण पुरा गर्ने जानकारी दिएका छन् ।
चालु आर्थिक वर्षमै नगर बस सञ्चालन गर्ने योजना अनुसार आगामी वैशाख महिनादेखि सुचारु गरिने मेयर पौडेलले बताए । नगर बस सञ्चालनसँगै नगरभित्र १५ वटा चार्जिङ् स्टेशन पनि राखिने भएको छ । इटहरीको चौरास्त चोकमा वैशाख महिनाभित्रै दुईवटा आकाशे पुलको पनि निर्माण पुरा गरि सक्ने पौडेलले बताए । उनका अनुसार इटहरीलाई व्यवस्थित शहरको रुपमा विकास गर्न गुरुयोजना पनि निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।