रंगेलीका सुनचाँदी व्यवसायी पवन सोनी सर्वसाधारणको गहना र रकम लिएर फरार

न्युजलय ११ साउन २०८०, बिहिबार १२:३८ मा प्रकाशित

विराटनगर । मोरङको रंगेली नगरपालिकाका एक सुनचाँदी व्यवसायी गहना र रकम लिएर परिवारसहित फरार भएका छन् । 

रंगली नगरपालिका–७ स्थित बजारमा रहेको ओम शान्ति ज्वेलर्सका सञ्चालक पवन सोनी फरार भएका हुन् ।

करोडौँ मूल्यबराबरको सुनचाँदी र नगद लिएर सोनी फरार भएपछि उनको पसलमा सुन धरौटी राखेर रकम लिएका र ब्याजमा रकम लगाएका व्यक्तिहरू बिचल्लीमा परेमा छन् ।

पीडितले इलाका प्रहरी कार्यालय रंगेलीमा उजुरी दिएअनुसार दुई करोड ६५ लाख रुपैयाँभन्दा बढी मूल्यबराबरको सुनचाँदी लिएर सोनी फरार भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उजुरी पर्ने क्रम जारी छ । सोनीले गरेको आर्थिक अपचलनबारे थप खुल्दै जाने देखिएको बताइएको छ ।