उदयपुरमा ७६३ केजी गाँजा बोकेको बोलेरोसहित दुई जना पक्राउ

न्युजलय १२ पुस २०८२, शनिवार ११:२० मा प्रकाशित

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–३ बाट ७ सय ६३ केजी ७०० ग्राम लागूऔषध गाँजा बोकेको बोलेरो गाडीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बेल्टार र लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका–३ स्थित पैतालिस चौकबाट गाईघाटतर्फ आउँदै गरेको को १ ज ३४५६ नम्बरको बोलेरो गाडीलाई चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा गाडीभित्र ३० बोरामा राखेको ७ सय ६३ केजी ७०० ग्राम गाँजा बरामद गरिएको हो ।

त्यससँगै चालक बेलका नगरपालिका–६ का रविन कुमार राई र सोही गाडीमा सवार बेलका नगरपालिका–९ का रामबहादुर राईलाई पक्राउ गरेको छ ।

पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।