विराटनगर । विराटनगरमा बिहीबार(आज) बिहान एक जना वृद्ध पुरुषले पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएका छन् । आगोले शरीरका अधिकांश भाग जलेका वृद्धको अवस्था गम्भीर छ ।
मोरङको लेटाङ नगरपालिका–७ घर भएका ६५ वर्षीय गोविन्दप्रसाद नेपालले पेट्रोल छर्किएर शरीरमा आगो लगाएको मोरङ प्रहरीले जनाएको छ ।
उनका अनुसार सुरुमा वृद्ध ग्यालेनमा पेट्रोल लिएर आएको खुलेको छ । विराटनगर महानगरपालिका–४ तित्रिगाछीमा पुगेपछि पेट्रोल आफ्नै शरीरमा छर्किएर एक्कासी आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट पत्ता प्रहरीले बताएको छ ।
आगोले मानिस जलिरहेको देखेपछि स्थानीयले घटनाका बारेमा प्रहरीलाई जानकारी दिएका हुन् । स्थानीयले पानी हालेर शरीरको आगो निभइदिएको प्रहरीले जनाएको छ ।
साथमा बोकेको झोलामा फेला परेको नागरिकताका आधारमा वृद्धको पहिचान खुलेको हो । झोलामा नागरिकतासहित अन्य कागजात पनि भेटिएको प्रहरीले जनाएको छ ।
शरीरमा लागेको आगो निभाएर स्थानीयले उद्धार गर्दै वृद्धलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्याका थिए । त्यहाँबाट थप उपचारका लागि विराटनगर–२ मा रहेको रेडक्रस अस्पताल एन्ड ट्रमा सेन्टरमा लगिएको प्रहरीको भनाइ छ ।
अनुसन्धानपछि घटनाका बारेमा थप प्रष्ट हुने प्रहरीले जनाएको छ ।