विराटनगर । धरानमा डेङ्गु संक्रमित बढेपछि सार्वजनिक भवन र वडा कार्यालयमा राखेर उपचार गर्न थालिएको छ ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा बुधबारसम्म ११ हजार ८२ जनाको परीक्षण गर्दा ७ हजार ६६६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । परीक्षण गरेकोमध्ये ६९ प्रतिशतमा पोजेटिभ आएको हो ।
डेङ्गु संक्रमणका कारण ९ जनाको मृत्यु भएको उपमहानगरपालिकाको तथ्याङ्क छ । डेङ्गु संक्रमित बढेपछि उपमहानगरपालिकाको वडा नं ८, ११, १३, १४ र १५ ले संक्रमितलाई वडाभित्रकै विभिन्न भवनमा राखेर उपचार गरिरहेको छ ।
त्यसबाहेक उद्योग वाणिज्य संघ र धरानको सभा गृहमा पनि बिरामीको जाँच र उपचार गरिएको महाशाखा प्रमुख मेहताले बताए ।
वडा कार्यालयले बाल क्लबका लागि बनाएको भवनको कोठामा म्याट ओछ्याएर बिरामीलाई राखिएको छ ।‘