विराटनगरमा पैनीमा लडिरहेको अवस्थामा भेटिएका पुरुषको मृत्यु, पहिचान खुल्न सकेन

न्युजलय ११ साउन २०८०, बिहिबार ०१:०२ मा प्रकाशित

विराटनगर । विराटनगरमा पैनीमा घोप्टो परेर लडिरहेको अवस्थामा भेटिएका एकजना पुरुषको मृत्यु भएको छ। मृतक अन्दाजी ३१ वर्षीय पुरुषको पहिचान खुलेको छैन। 

उनी विराटनगर महानगरपालिका–१४ स्थित कच्ची सडकनजिकको पैनीमा हेल्मेट लगाएर ढलिरहेको अवस्थामा भेटिएका थिए। उद्धार गरेर प्रहरीले उपचारका लागि विराटनगरको कोसी अस्पताल लगेको थियो। 

उपचारकै क्रममा उनको मृत्यु भएको मोरङ प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार टाउकोमा हेल्मेट लगाएको र घोप्टो परेको अचेत अवस्थामा पैनीमा फेला परेका पुरुषलाई उद्धार गरेर उपचारका लागि लगिएको थियो। 

घटनास्थलनजिकै सडकमा बा ६८ प ३११४ नम्बरको मोटरसाइकल पनि फेला परेको छ। मोटरसाइकल इलाका प्रहरी कार्यालय रानीमा लगेर राखिएको छ।

शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पतालमा राखिएको छ। घटनाको अनुसन्धान सुरु गरेर मृतकको पहिचानको प्रयास भइरहेको प्रहरीको भनाइ छ।