मलद्वारमा लुकाएको पहेँलो धातुसहित त्रिभुवन विमानस्थलबाट एक भारतीय पक्राउ

न्युजलय २९ मङ्सिर २०७८, बुधबार ०९:०० मा प्रकाशित

काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । बुधबार फ्लाई दुबईको उडानमा दुबईबाट काठमाडौं आएका मोहम्मद सहिद इब्राहिम शेखलाई अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल क्षेत्रबाट पक्राउ गरिएको हो ।


उनको गतिविधि शंकास्पद देखिएकाले शंका लागि नियन्त्रणमा लिई परीक्षणका लागि काठमाडौं मेडिकल कलेज सिनामंगलमा लगेर चेकजाँच गर्दा निजको मलद्वारभित्र एक थान धातुजन्य पदार्थ देखिएको प्रहरीले जनाएको छ । निजलाई शौचालयमा लगी शौच गराउँदा मलद्वारबाट सेतो प्लाष्‍टिकले बेरेको अवस्थामा सुनजस्तो देखिने पहेलो रंगको अर्धठोस पदार्थ भेटिएको थियो । 


३७९ ग्राम तौलको उक्त वस्तु लुकाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारेकोले निजलाई पक्राउ गरी बरामद भएको दसीसहित अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको एसएसपी राजेशनाथ बास्तोलाले बताए ।