विराटनगर । कोशी प्रदेशका सुनसरी, मोरङ र झापामा बर्डफ्लु संक्रमण फैलिएको छ । मङ्गलबारसम्ममा यी तीन जिल्लाका विभिन्न १२ कुखुरा फार्ममा बर्डफ्लु संक्रमित ६० हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ ।
प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार मोरङको विराटनगर, सुन्दरहरैंचा, उर्लाबारी र कटहरी, सुनसरीको इटहरी र गढी तथा झापाको दमकसहित आसपासको क्षेत्रमा बर्डफ्लु संक्रमण फैलिएको छ ।
त्यस क्षेत्रमा हालसम्म ६० हजारभन्दा बढी कुखुरा र ५० हजारभन्दा बढी अण्डा नष्ट गरिएको छ ।
संक्रमण पुष्टि भएसँगै प्रभावित क्षेत्रमा नियन्त्रण अभियान सञ्चालन गरिएको छ । त्यसक्रममा संक्रमित फार्मका सबै कुखुरा, अण्डा, दाना र अन्य सामग्री नष्ट गर्ने काम भइरहेको छ ।
मोरङ, सुनसरी र झापामा संक्रमण पुष्टि भएका १२ वटै फार्ममा संक्रमित कुखुरा, अण्डा र दाना नष्ट गर्ने पहिलो चरणको काम सकिएको छ ।
सरकारी टोलीले संक्रमित क्षेत्रमा मरेका पन्छी तथा तिनका मलमूत्र सुरक्षित रूपमा व्यवस्थापन गर्न विशेष सावधानी अपनाएको छ । ती सामग्रीलाई खाल्डो खनेर गाड्ने र औषधि स्प्रे गरी संक्रमण नियन्त्रणको प्रयास गर्दा संक्रमण अन्य क्षेत्रमा फैलिन नदिन सहयोग पुग्ने विश्वास गरिएको छ ।