ओमिक्रोन फैलिएका मुलुकबाट नेपाल आउने यात्रुले सात दिन क्वारेन्टिन बस्नु नपर्ने

न्युजलय ३ पुस २०७८, शनिवार १२:५५ मा प्रकाशित

काठमाण्डौ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएका देशहरूबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित भएको छ । 

अध्यागमन विभागले सूचना जारी गर्दै विभिन्न ६७ मुलुकबाट नेपाल आउँदा सात दिन अनिवार्य होटलमा क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको थियो । तर, सूचना निकालेको एक दिनमै उक्त निर्णयलाई उल्टाउँदै तत्कालका लागि स्थगित गरेको हो । 

अर्को सूचना जारी नभएसम्म उक्त निर्णय स्थगित गरिएको हो । निर्णय स्थगित गरिएको कारणबारे भने विभागले केही खुलाएको छैन् । अब ओमिक्रोन फैलिएका विभिन्न ६७ देशबाट नेपाल आउने यात्रुले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने छैन् । 

यसअघि शुक्रबारको सूचनामा मन्त्रिपरिषद्को मंसिर १३ को निर्णय अनुसार भन्दै जोखिमयुक्त मानिएका ६७ देशबाट नेपाल प्रवेश गर्ने यात्रुले सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने भनिएको थियो ।