पाकिस्तानको कराँचीमा विस्फोट हुँदा १० जनाको मृत्यु

न्युजलय ३ पुस २०७८, शनिवार ०६:४२ मा प्रकाशित

काठमाडौं । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा शनिबार एउटा दुई तले भवनको भुइँ तल्लामा भएको विष्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएको प्रहरी र अस्पताल स्रोतले बताएको छ ।

 

हाल अस्पतालको अभिलेखमा १० शव र १२ घाइतेको नाम दर्ता भएको छ भने घटनामा गम्भीर घाइते भएका अधिकांश घाइतेको अवस्था गम्भीर रहेको शहीद मोहम्मद बेनजिर भुट्टो इन्स्टिच्युट अफ ट्रमाका प्रमुख सञ्चालक मुहम्मद साबिर मेमनले जानकारी दिएका छन् ।

 

एक निजी बैंक र अन्य थुप्रै कार्यालयहरू भएको भवनमा ग्यास चुहावटका कारण विष्फोट भएको बताइएको छ । विष्फोटमा भवन आंशिक रूपमा ध्वस्त भएको थियो र थुप्रै व्यक्तिहरू भग्नावशेषमा फसेको आशंका गरिएको छ ।

 

उद्धार टोली फसेका मानिसहरूको खोजीका लागि भग्नावशेष हटाउन प्रयासरत छ । 


कराँची सिन्धको प्रान्तीय राजधानी हो । सिन्धका मुख्यमन्त्री सैयद मुराद अली शाहले घटनाप्रति दुःख व्यक्त गर्दै आतंकवादको सम्भावनालाई ध्यानमा राखेर घटनाको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।


थप अनुसन्धानका लागि बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।