झापामा न्वारानमा भोज खाएका २७ जना बिरामी

न्युजलय ३१ जेठ २०८०, बुधबार ०२:४२ मा प्रकाशित

झापा । न्वारानको भोज खाएका मेचीनगरका स्थानीयहरु दुई दिनअघि बिरामी भएपछि अस्पतालमा उपचार भइरहेको छ ।

मेचीनगर – ९ माथिल्लो मागुरमाडीका गोविन्द श्रेष्ठको नातिको न्वारानमा भोज खान गएका अधिकांश स्थानीयको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । 

बिरामीहरुको स्थानीय मेची आम्दा अस्पतालमा उपचार भइरहेको छ । भोजमा रहेको परिकारमा अखाद्य पदार्थ मिसावट हुँदा फुड पोइजनका कारण स्थानीयहरु बिरामी भएको अस्पतालले जनाएको छ ।

स्थानीयहरुमा बान्ता हुने, ज्वरो आउने तथा पखाला चल्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । तामाङका अनुसार २७ जनाको उपचार भइरहेको छ ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेकाले भोलिसम्म डिस्चार्ज हुने अस्पताल प्रशासनले जनाएको छ ।

गर्मी मौसमका कारण खानेकुराहरु लामो समय बाहिर राख्न र पकाउने बितिक्कै सेवन गर्न चिकित्सकले सुझाएका छन् ।