आगलागीबाट दुई बालिकाको जलेर मृत्यु

न्युजलय ३० मङ्सिर २०७८, बिहिबार १०:३२ मा प्रकाशित

सर्लाही ।  विद्युत् सट भई घरमा आगो लाग्दा सर्लाहीमा दुई बालिकाको जलेर मृत्यु भएको छ ।

कविलासी नगरपालिका–७ सिर्सियास्थित जोगी महरा चमारको फुसले छाएको घरमा बुधबार राति विद्युत् सट भएर आगलागी भएको थियो । 

घरमा सुतिरहेको अवस्थामा आगलागी हुँदा महराको ८ वर्षकी छोरी लक्ष्मी कुमारी र वर्ष ३ की सोगन्धी कुमारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरमा परालको ओछ्यानमा सुतिरहेकी बालिका जलेर गम्भीर घाइते भएपछि प्रहरीले जिल्ला अस्पताल पुर्‍याएका थिए ।

जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएकोमा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ ।  

घरमा लागेको आगो स्थानीयको सहयोगमा प्रहरीले झन्डै आधा घण्टापछि नियन्त्रणमा लिएको थियो ।